Thursday, August 11, 2016

शुक्रबार राति अत्याधिक उल्कावर्षा देखिने सम्भावना !!

श्रावण २६, २०७३- स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण गत साउन २ गतेदेखि सक्रिय भएको ययाति उल्कावर्षा यस वर्ष साउन २८ गते शुक्रबारका दिन अत्यधिक मात्रामा हुने अनुमान नेपाल एस्ट्रोनोमिकल सोसाइटीले गरेको छ। उल्का वर्षा भदौ ८ गते सम्म सक्रिय रहने सोसाइटीले जनाएको छ । 
शुक्रबार उल्कावर्षा उत्तर तथा उत्तरपूर्वी आकाशमा देखिनेछ । अत्यधिक उल्का वर्षाको समय साउन २८ गते भएकाले मौसम सफा रहे भोली बिहीबार र शनिबार राति उल्का वर्षा हेर्न चाहनेहरुका लागि सुनौलो मौका हुन सक्नेछ । यसवर्ष प्रतिघन्टा १०० वटा सम्म उल्का वर्षा देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
'यो उल्कावर्षाको स्रोत ययाति तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ययाति उल्कावर्षा नाम दिइएको हो,' उनले भने, 'ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० किलोमिटर सम्म हुने भएकोले करिब ७० किलोमिटरमाथि पृथ्वीको वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने गर्दछ।'

स्विफ्ट टटलले सुर्यको परिक्रमा गर्न १३३ वर्ष लगाउँछ । यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु  र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ पनि भन्ने गरिन्छ । 
सन् १९९२ मा पृथ्वीको नजिक आएको स्विफ्ट टटल सन् २१२६ मा पृथ्वी नजिक आउँदा नाङ्गो आखाँले नै देख्न सकिने समेत अध्यक्ष भट्टराईले बताए।
From : Ekantipur

No comments:

Post a Comment