Tuesday, August 9, 2016

वाई फाई छैन ? नो टेनसन !!!, वाइफाइको विकल्प लाइफाइ

हाम्रो आधुनिक जीवनको अभिन्न अंग भइसकेको इन्टरनेट प्रविधि वाइफाइ (Wi-Fi: Wireless Fidelity) को अस्तित्व केही समयमा नहुन सक्छ भन्ने कल्पना गर्न सक्नुहुन्छ ? पत्याउन गाह्रो भएपनि यो सम्भावनालाई वाइफाइको वैैकल्पिक प्रविधि लाइफाइ (Li-Fi: Light Fidelity) ले सोच्न बाध्य बनाएको छ। 
 
वाइफाइ जस्तै लाइफाइ पनि ताररहित इन्टरनेट प्रविधि हो। यो अप्टिकल वायरलेस कम्यूनिकेसन (Optical Wireless Communication) समूहअन्र्तगत पर्छ। यसलाई वाइफाइ तथा सेलुलर नेटवर्क (Cellular Network)को वैैकल्पिक प्रविधिको रुपमा लिन सकिन्छ। वाइफाइले रेडियो वेभ सिग्नल प्रयोग गर्छ भने लाइफाइले भिजिबल लाइट सिग्नल (VLC:VisibleLight Signal) प्रयोग गर्छ।
 
रिसिभर र प्रकाशको स्रोत जस्तै एलइडी (LED:Light Emitting Diodes) बल्बको माध्यमबाट लाइफाइ प्रयोग गर्न सकिन्छ। एलइडी बल्बको प्रकाश घर वा कार्यलयको कोठाको भित्ताभन्दा बाहिर नजाने भएकोले अनधिकृत प्रयोगकर्ता तथा ह्याकरबाट पनि सुुरक्षित हुन्छ। हाम्रो घरमा प्रयोग हुने एलइडी बल्बमा चिप जडान गरेर इन्टरनेट प्रयोग गर्न मिल्ने हुँदा यो प्रविधि सजिलो हुनसक्छ। लाइफाइ न्युक्लियर पावर प्लान्ट, हवाइजहाज, हस्पिटल, जस्ता संवेदनशील ठाँउमा उपयुक्त हुन सक्छ, किनकि यसले रेडियो वेभको सट्टा भिजिबल लाइट सिग्नल प्रयोग गर्छ। यो सिग्नल तुलनात्मक रुपमा रेडियो वेभभन्दा १० हजार गुणा ठूलो हुन्छ।
 
यो प्रविधिको आविष्कार सन् २०११ मा युनिभर्सिटी अफ एडिनवर्ग, स्कटल्याण्डमा हेराल्ड हसले गरेका थिए। उनी युनिभर्सिटी अफ एडिनवर्ग अन्र्तगत मोबाइल कम्युनिकेशनका अध्यक्ष समेत हुन्।
 
सन् २०१५ मा गरिएको वैज्ञानिक परीक्षणमा यसको स्पीड २२.४ जिबि प्रतिसेकेण्ड मापन गरिएको थियो। यो स्पीडमा १ जिबि सम्मका फिल्म डाउनलोड हुन १ सेकेण्डभन्दा पनि कम समय लाग्छ। यो प्रविधिलाई पाइलट प्रोजेक्टका रुपमा यूरोपेली देश इस्टोनियाका केही ठाँउमा औसत स्पीड १ जिबि प्रतिसेकेण्डका दरले सफतापूर्वक परीक्षण गरिदैँछ। यो स्पीड वाइफाइ प्रविधिमा प्रयोग भइरहेको औसत स्पीडभन्दा सयौँ गुणा बढी हो। 
 
अहिले प्रयोगमा आएका वाइफाइका सम्पूर्ण भौतिक संरचना रातारात परिवर्तन हुन सम्भव नदेखिए पनि हेराल्ड हसले भनेका छन्, ‘भबिष्यमा विश्वव्यापीरुपमा १४ खर्ब एलइडी बल्बको प्रयोग हुने छन्। साथै सफा, हरित र अझ चम्कीलो भविष्यको लागि १४ खर्ब स्थापित लाइफाइको पनि प्रयोग हुनेछ।’
From:Setopati

No comments:

Post a Comment