Monday, August 20, 2018

के तपाइँ यो नारा बुझ्नुहुन्छ ? मेरो बा बेपत्ता छैनन्, हाम्री आमाका बलात्कारी हुन् ।

संसद् मा दर्ता भएको विधेयक ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’को दफा (३) को उपदफा (६) मा नागरिकता प्राप्तिका लागि निवदेन दिने व्यक्तिले बाबु वा आमा वा आफ्नो वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्ने उल्लेख छ । त्यसैमा (क२) बुँदा थपेर यस्तो प्रतिबन्धात्मक प्रावधान थपिएको छः ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको पुष्ट्याईं सहित निज वा निजको आमाले गरेको स्वघोषणा ।’
महाशय, यो वाक्यमा ध्यान दिनुस् । यसले दुईवटा विभेद गरेको छ-
१. बाबुको पहिचान जनाउने प्रमाण लगेपछि आमाको पहिचान नभए पनि पुग्छ ।
२. आमाको पहिचानले मात्र भने पुग्दैन । आमाको पहिचान मात्र लैजानेले बाबु खोइ भन्ने जवाफ दिनुपर्छ ।
अब विचार गर्नुस्, जसका बाबुको पहिचान खुलाउन
गाह्रो छैन उसलाई कुनै अप्ठेरो छैन तर जसको बाबुको पहिचान खुलाउन गाह्रो छ उसलाई निकै गाह्रो छ । सबैभन्दा पहिला त हाम्रो जस्तो पितृ सम्पत्तिको हक लाग्ने समाजमा सहज परिस्थितिमा जसले पनि बाबुकै प्रमाण लिएर जान्छ किनभने सम्पत्तिको हक कसैले पनि गुमाउन चाहँदैन । तर, आमाको मात्र प्रमाण लैजाने कुनै न कुनै अप्ठ्यारोमा हुन्छ ।
अब यो नारामा ध्यान दिनुस् । यो नारा ती व्यक्तिप्रति समर्पित छ जसको बाबु खुलाउन गाह्रो छ । मानिलिनुस्, कोही युवतीको बलात्कार भयो । विविध कारणले उनले लुकाउन बाध्य भइन् । समय पुगेपछि गर्भ रहेको खुल्यो । तर गर्भपतन गराउने समय घर्किसकेको थियो । बच्चा जन्मियो । निकै कष्टले अनेक संघर्ष गरेर र अनेक लान्छना गरेर उनकी आमाले हुर्काउँछिन् । त्यो बच्चा नाबालिक भएपछि नागरिकता माग्न जाँदा उसलाई भनिन्छ - तेरो आमाको प्रमाणले मात्र पुग्दैन । तेरो बाउ खोइ ? के ऊ बेपत्ता छ ?
हो त्यतिबेला भन्छ उसले - मेरो बा बेपत्ता छैनन्, हाम्री आमाका बलात्कारी हुन् ।
के तपाईं यो विभेद र मानसिक यातना कानूनमा रहोस् भन्ने चाहनुहुन्छ ? मलाई लाग्छ, तपाईं स्वस्थ चिन्तन भएको असल मानव हुनुहुन्छ । त्यसैले यो विभेदको विरोध गर्नुहुन्छ ।

1 comment:

  1. This is not acceptable. Everyone must have equal rights or we should have courage to say "we dont have equal rights in Nepal".

    ReplyDelete