Friday, August 4, 2017

म छोरी, म आइमाई जात, म नारी !!

म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु ।

समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप ।

मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए । कम्ति गाह्रो भएन, यो निर्णय लिन मलाई । “People fight for freedom and people die for freedom”, यो वाक्य ले मलाई निकै छोएको थियो, आखिर स्वतन्त्रताको कुरा न उठ्यो (?)

आज शरीर बाट पनि, स्वतन्त्र भएको अनुभव गर्दैछु, उ हेर्नुस् मेरो शरीर माथि फूल चढाइदिँदैछन्… आमा त रुँदा, रुँदा मुर्छित हुन भएछ । विचरा मेरा साना भाइ बहिनी… उनीहरु को चाँहि माया लागिरहेको छ । बुवा पनि रोइरहनु भएको छ, हेर त हाम्रो घरमा कति भिड बढेको मान्छे को । स्थिति कस्तो खराब बनेको छ… उफ ! कस्तो नराम्रो परिस्थिति…

रोएको त म पनि थिँए, कसैले मेरो आशुँ पटक्कै देखेनन् । जब आँशु सकिन थाले, तब बोल्न पनि छाँडे, पागल जस्तै भौँतारिन पनि थालेँ । आत्महत्या रहर र बाध्यता दुवै बन्न पुगे । आज बल्ल मैले शान्ति पाएको छु, असिम आनन्द को अनुभुति भएको छ । आखिर म एउटा निर्णय गर्न त स्वतन्त्र भएँ…

याद आयो, Suicide Note त भुसुक्कै बिर्सेको । अब अरुले के भन्लान् भनेर यो नि लेखेको छु, अनि आफू चरित्रहिन नभएको कुरा बुझाउन खोजेको छु । तपाई यो पत्याउनुहुन्न भने पनि केही छैन तर सबैले गर्ने रित ‘फलो’ गरेकी छु… आखिर स्वन्त्रतालाई सावित गर्नै पर्‍यो । अलिकति बढि इमोशनल छ जस्तो लाग्यो तर पनि लेखेँ… अलिकति रोएँ पनि अनि अलिकति हाँसे पनि…

श्वास फेर्दैछु र फाल्दैछु,
अभिशापित जिवन अनयास बाँच्दैछु
मुल्य छैन यो जिवनको भनि, म किन जिउँदैछु
व्यर्थ जिवन जिउन संघर्ष किन गर्दैछु ।

भावनाहरु आउँथे होलान्
तर निशब्द म टोलाइरहेकी छु
बाँच्न मन छैन भनि म भन्दैछु
मृत्यु देखेर किन काँप्दैछु ।।

मृत्यु भयानक छ पक्कै पनि । ‘डर’ मृत्युको सबैलाई, तर मैले आफैँलाई मृत्यु दिँए । सबैले आत्महत्या गर्नेलाई काँतर भन्छन्, म उनीहरुलाई ‘साहसी’ भन्छु । एउटा कुरा ले म उनीहरुलाई आधार बनाएर आत्महत्या गर्दैछु र अर्कोकुरा, आत्महत्या चानचुन कुरा हुँदै होइन । आफ्नो जिवन… जुन जिवन विरलै पाइन्छ… अनि त्यो विरलै पाइने जिवनको अन्त्य आफैँले गर्नु कम्ति साहस को कुरा हो (?)

लाग्दैछ, छोरी भएर जन्मिनु ठूलो अभिशाप हो । जिवन जुन नारीबाट सुरु हुन्छ, त्यसैलाई, त्यही शरीर र आत्मालाई म, अभिशाप को संज्ञा दिइरहेकी छु ।

घरमा कुरा आयो, “उ इन्जिनियर रे, अमेरिकामा बस्छ रे, धनि, ह्‍यानसम, खान्दानी छ रे” । म २० भर्खर… दुई दशककी उमेर की… उसको उमेर थाहा भएन । भर्खर ब्याचलर पढ्दैछु, पढाइमा कहिले दोश्रो हुनु परेको छैन र ब्याइफ्रेन्ड नभएकी, हुन त प्रस्ताव नआएको होइन । सायद म कसैलाई प्रेम गर्छु कि जस्तो लाग्छ तर यो चाँहि पक्का थाहा छैन…Crush मात्र हुनसक्छ …

अब यति पढेको पनि कुनै अर्थ रहेन, किन भने विवाह मेरो लक्ष्य होइन । मेरो सपना हो धेरै पढ्ने र धेरै लेख्ने, केही गरेर देखाउने… तर विहे को कुरा ले सबैकुरा अस्तव्यस्त भयो । त्यसमा म त्यो केटा जसलाई म पलपल सराप्छु तर त्यसको केही दोष छैन । जिवन यति अस्तव्यस्त भयो कि मैले आफ्नो विकल्प को अगाडि मात्र एउटै बाटो देखेँ, त्यो हो ‘मृत्यु’ । मलाई के थाहा, ‘विजय मल्ल’ को “अनुराधा” को जस्तो परिस्थिति मेरो जिवन मा पनि आउँछ भनेर । फरक यति हो कि, “अनुराधा” ले अरुको हत्या गर्न अघि सरिन भने मैले आफ्नै स्वयम को !

पक्कै पनि छोरी हुनु अभिशाप बन्यो मलाई । छोरी भएकै कारण मलाई घरबाट पन्छाउन खोजिएको हो । मलाई पन्छाएपछि जिम्मेवारी पुरा हुने… म एउटा घाँडो, बर्डन मात्रै… कुनै अपरिचितलाई जिम्मा लगाएर उनीहरु मलाई पन्छाउन खोज्दैछन् । मलाई सँधै पाहुना को संज्ञा दिन्छन्, हो विवाह गर्नुपर्छ, बाँचेको भए गर्थेँ होला… तर आफैँ केही गर्न सक्षम भएपछि… कसैमाथि निर्भर भएर होइन, आफ्नै खुट्टा मा उभिनसक्ने भएर । तर यो २० वर्ष को उमेर मा हुनलागेको यो बिहे को म विरोध गर्छु । के मैले विरोध जनाइन होला त ? गरेँ नि, तर आखिर मेरो केही लागेन, म उनीहरुका अगाडि लाचार बनेँ । मलाई अहिले बिहे गर्ने इच्छा छैन, तर उनीहरुलाई जसरी भए पनि आफ्नो दायित्व पुरा गर्नु छ ।

मलाई लाग्छ, म मा मानविय संवेदना बाँकि छैन, त्यसैले मलाई आफू कुनै पालिएको जनावर जस्तो लाग्दैछ… भेडा बाख्रा जस्तो… बेला बेला मा चराउन लाने, घाँस हालेको खाने र ठूलो मोटो घाटो भएपछि बेचिने… र चुपचाप ‘कसाई’ सँग आफ्नो बलिदान को लागि जाने…

आफू त्यस्तै भएजस्तो लाग्छ । म न प्रतिकार गर्न सक्षम छु न त केही गर्न नै । विरोध गर्दा पनि नसुनिएको भएकोले, मेरो फेरी विरोध गर्ने क्षमता पनि भएन । तर पनि यत्ति चाँहि सोचेँ कि ‘कसाई’ को पछि लागेर जानुभन्दा, आफैँलाई मृत्यु दिने निर्णय गरेँ । अहिले नै विहे गर्नु,मेरा लागि मृत्यु समान हुनेछ र त्यो बाँचेर मर्नुभन्दा आत्महत्या धेरै सजिलो हुने हुँदा आत्महत्याको निर्णय लिएकी हुँ ।

लौ, जलाउने बेला भइसकेछ । सबैजना निकै रोइरहेकाछन् । यो नि एउटा नाटक नै रहेछ । बाँचुन्जेल केही कुरा नसुन्ने, केही परवाह नगर्ने… तर अहिले छाति पिटिपिटि रोइरहेकाछन् । लौ, जा मरिदिएँ म त… तर म हारिँन नि… मैले जिँते, मैले बिहे गरिन । आफ्नो मृत्यु को सन्तोष लिँदैछु । Old Man and Sea को कुरा याद आयो, ‘Man can die but can never be defeated’ । आज मैले मरेर पनि विजय प्राप्त गरेकी छु । भइन त म, विजयी ? म छोरी !!!

पुनश्च: आत्महत्या भन्ने कुरा सपनामा पनि सोच्नु हुँदैन । यति अमुल्य जिवन, कुनै पनि हालतमा खेर फाल्नुहुँदैन । तर कथामा, कसैको वास्तविकता मा डुबेर लेखिएकोले, धेरैलाई भ्रम पर्न सक्छ । भ्रम मा नपर्नुस् है !


-Text from Sweeta Baniya

No comments:

Post a Comment