आकाशमा छिनछिनमा दौडिरहने बादलका टुक्रा, गड्याङगुडुङ आवाजसँगै संगीतमय बनेको मौसम। अविरल बर्सिरहने झरीले जोकोहीलाई मोहित बनाउँछ। झमझम दर्किरहेको पानीले दिने संगीत र बलेसीमा चुहिएको तपतप आवाजको मिठास बेग्लै हुन्छ। रूखका पातमा पानी बजेको धुनले मधुर संगीत सिर्जना गर्छ। साँच्चै मनमोहक हुन्छ झरी। मान्छेमा मादकता थप्ने, दुःखसुख बिसाउने यामको रूपमा झरीलाई लिइन्छ। झरीलाई मायाको मौसमका रूपमा पनि चित्रण गरिन्छ। दुःख पाएर रोएको मान्छेलाई साउने झरीझैं आँसु बर्सियो भन्ने आशयमा व्यक्त गरिन्छ।
झमझम बर्सिरहेको झरी हेर्दै टोलाउनुको मज्जा नै अर्कै हुन्छ। पुराना सम्झना याद गर्दै, चियाको चुस्कीको स्वादमा मन बहलाउनुको आनन्द भनिसाध्य छैन। कोही प्रिय मान्छेको हात समाउँदै झरीमा भिज्नुको मिठास अरू केले नै देला र ? हृदय छुने संगीतको झंकार बजिरहन्छ झरीको तपतपमा।
यही झरीका विषयमा अनेकौं फिल्म बने, दर्जनौं उपन्यास कोरिए, अनि कैयौं गीत लेखिए। झरीकै विम्ब मिसाएर मानिस आफ्नो सुखदुःख बाँड्छन्। झरी सुख पनि हो, दुःख पनि हो। मन भुलाउने मौसम पनि झरी, प्रियसीलाई सम्झेर मन रुलाउने याम पनि झरी।
त्यसैले पनि होला, गायक नवीन के भट्टराईले एक्लै हुँदा झरी नपर्न आग्रह गरेका। डा. अर्जुन सायमीको शब्दमा रहेको यो गीतमा शम्भुजित बास्कोटाले संगीत भरेका थिए। गायक गीतको अन्तरामा भन्छन्-
ए झरी नझरिदेऊ यसरी
एकान्त यो रातमा, मलाई पागल गरी।
झरिदेऊ तिमी सुस्तरी सुस्तरी
जब हुन्छिन् मेरो मायालु मेरै वरिपरि।
यस्तै झरी शीर्षकको गीतमा यावेश थापाले आवाज दिएका छन्। विशेषतः झरी पर्नु भनेको आकाश खुल्नु हो। मानिसको अँध्यारो सम्झना हटेर जानु हो। जसरी झरीपछि उज्यालो छाउँछ र इन्दे्रणी रङ झुल्किन्छ त्यसरी मानिसको जीवनमा पनि उज्यालो पल आउँछ भन्ने आशयमा झरीको विम्ब प्रयोग गरिन्छ। गीतमा यावेश भन्छन्-
यो झरीपछि आकाशमा घाम आएपछि
यो इन्द्रेणी आई आकाश खुसी भएपछि
मलाई मुस्कुराउन मन छ।
गायक बबिन प्रधान पनि झरी परेको दिन प्रियसीको खुब याद आउने बताउँदै आकाश हेरेर तिमीलाई पर्खिरहेको छु भन्छन्। कालो बादलले आकाश ढाकेको दिन प्रियसीकै मुस्कानको याद गरिरहेको सम्झनामा उनी भन्छन्-
झरी परेको दिन
आकाश हेरिरहेँ
तिमी आउने दिन भनी कति पर्खिरहेँ
कालो बादलले आकाश ढाकिरह्यो
तिम्रो मुस्कान पर्खिरहेँ।
झरीमा रुझ्दा र खोलाको पानीमा डुब्दा आफैंलाई मदहोश बनाउने विम्ब प्रयोग गरेर गीत लेखिएका छन्। अरूलाई लुकाएर राखेको आफूभित्रको सुन्दरता अनुमतिबिना नै पानीले छोएर बगिदिएको गुनासो गर्छन् प्रायः लेखक। बेइमानी चलचित्रमा पूजा चन्द गीत गाउँदै झरीमा नाच्छिन् र भन्छिन्-
यो पानी कस्तो बैमानी
चुम्छ मेरो अंग अंग लाजै नमानी।
छोइन्छ कि कतै भनी आफैंसँग डर मानी
छेउ लागी हिँडिरहँ आफन्तकै डर मानी
पखालेर लैजान्छ झैं...
झरीकै यादमा थुप्रै गीत पनि लेखिएका छन्। झरीलाई पानी, वर्षात् आदि विभिन्न नामले सम्बोधन गर्ने गरिन्छ। यसले संगीतमा पनि गहिरो सम्बन्ध गाँसेको छ। झरीका गीतमा, सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि, असारे महिनामा पानी पर्यो रुझाउने, पानीको रिमझिम, वर्षात्मा तिमी रुझ्दा, ए झरी, पानी पर्यो असिना झर्यो, यो पानी कस्तो बेइमानीलगायत दर्जनौं चर्चित गीत छन्।
झरी सँगसँसै आउने अर्को याद हो, असारको हिलो। असारको हिलोमा लडिबुडी गर्दै रमाउन हरकोही चाहन्छ। बच्चादेखि वृद्धसम्म असारे हिलोमा खुसी हुन्छन्। आकाशबाट पानी बर्संदै गर्दा छुपुछुपु धान रोप्नुको अनुभूति अनमोल हुन्छ। आकाशबाट पानी पर्नासाथ किसानको खुसी फर्किएर आउँछ। वर्षभरि खान पुग्ने अन्न रोप्ने सिजन पनि हो असार। यसले पनि असार, झरी, वर्षा र पानीले मानिसका बाल्यकाल याद गराउँछन्। झरीसँगै मान्छेका मनका दुःखपीडा बगेर जान्छ भन्ने विश्वास पनि गरिन्छ। गायक अल्मोडा राना उप्रेती भन्छन्-
पानी पर्यो असिना झर्यो
दाइको रुमाल भाउजूलाई मन पर्यो।
Source: http://annapurnapost.com/news/160530
No comments:
Post a Comment